वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन : पुष्पकमल दाहाल

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन : पुष्पकमल दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरूद्ध केही पनि गर्न नसक्ने बताउनुभएको छ ।

भ्रष्ट र दलालहरुले कांग्रेस-एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरूद्ध केही पनि गर्न नसक्ने बताउनुभएको हो । 

दलाल, विचौलियाहरूले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको जिकिर थियो । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले सरकार भ्रष्टहरूले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कूलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको दाबी गर्नुभयो । 

उहाँले आफूले भ्रष्टाचारको विरूद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्‍याउनु भयो । अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरूरी रहेको समेत बताउनु भयो । 

उहाँले संविधानमाथि घात हुने खतरा अझै नटरेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.