काठमाडौं । नेकपा एमालेले सदस्यता रोकेर पार्टीमा ढोका बन्द गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने सक्रियता झन् बढाउनु भएको छ। उहाँ आज मदन भण्डारीको ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समारोहको कार्यालय उद्घाटन गर्न थापागाउँ पुग्नुभयो, जहाँ एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल तथा उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसमेत सहभागी हुनुभयो । कार्यक्रममा एमाले पूर्वउपाध्यक्षसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीभित्रको विकृति र विसंगति विरुद्ध उभिने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले सदस्यता खारेज गरेको भए पनि आफू एमालेमै काम गरिरहने बताउनुभयो । आफू एमाले गठन नहुँदै मालेमा आवद्ध भएर भोजपुरबाट राजनीति सुरु गरेको भन्दै भण्डारीले पार्टीले जिम्मेवारी नदिएपनि निरन्तर काम गरिरहेने र पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध लडिरहने बताउनुभयो ।
आधा घण्टाभन्दा बढी सम्वोधन गर्नुभएकी भण्डारीले अधिकांश समय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिइकन सरकार र पार्टीभित्र ओलीले अपनाइरहेको कार्यशैलीको कटाक्ष गर्नुभएको थियो । नेकपा एमाले पूर्णलोकतान्तिक पद्धतिमा प्रवेश गरेको भए पनि पार्टी प्रणालीमा नचलेको, सीमित ब्यक्तिहरु पदमा पुगेको भन्दै उहाँले पार्टी कमजोर भएको आरोप लगाउनुभयो । भण्डारीले सरकारको कार्यशैलीलाई लिएर समेत चर्को विरोध गर्नुभयो । उहाँले जननिर्वाचित संसद् कानुन निर्माण गर्ने काममा निरीह बनेको र ठूला राजनीतिक दलहरुले सरकार गठन गर्दा गरेको संविधान संशोधनको मुद्धालाई अघि बढाउन नसकेको भन्दै आलोचना पनि गर्नुभयो ।
जनताको बहुदलीय जनवादको जगमा बनेको एमाले सरकारले काम गरेको नगरेको भनेर समीक्षा गर्ने बेला भएको उहाँको भनाइ छ । पूर्वराष्ट्रपति सहभागी कार्यक्रममा विना स्वीकृति नजान पार्टीको निर्देशन भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा दुइ उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे सहभागी हुनुभएको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्रैबाट जबजविरुद्ध प्रश्न उठाइएको भन्दै खबरदारी गर्नुपर्ने बताउनुभयो ।
पोखरेलले मदन भण्डारीले पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन जबजको प्रतिपादन गरेको र जबजले नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विधि अघि सारेको भए पनि त्यो हुन नसकेको बताउनुभयो ।