सिंगै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिंगै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ ।

सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गर्नुभयो ।

'यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला आदि बनाइसकेका छौँ'’, उहाँले भन्नुभयो, 'कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकमासहित हुम्लामा पिच बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरु अब यथार्थ भइसकेका छन् ।'

प्रधानमन्त्रीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भएको स्मरण गराउनुभयो । उहाँले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाउनुभयो । 'मैले पहिला ग्यास र खानीको उत्खननको कुरा गर्दा उडाउनेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन् तर कर्णाली त्यतिसारो वैगुनी हुन सक्दैन । अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौँ,' उहाँले भन्नुभयो, 'निरकुंश राजतन्त्रको अध्याँरो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.