काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताउनुभएको छ ।
बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको भन्दै यसलाई नेपाली कांग्रेसले बिर्सिन नहुने बताउनु भयो ।
कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने उहाँकाे भनाइ छ । नेपाली कांग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको उहाँले बताउनु भयो । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उहाँको भनाइ छ ।
राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उहाँले बताउनु भयो । अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्ने उहाँले बताउनु भयो ।
कांग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको उहाँले बताउनु भयो । महामन्त्री थापाले सत्तामा र शक्तिमा पुग्नका लागि आधारभुत मूल्य र मान्यतासँग सम्झौता गरर प्राप्त गरिएको सत्ताको अर्थ नरहने उहाँकाे भनाइ छ ।