काठमाडौं । डिफेन्डिङ च्याम्पियन एभीएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन थ्रीअन्तर्गत चौथो दिन शानदार पुनरागमन गरेको छ ।
तेस्रो दिनको समाप्तिमा ३७ अंक साथ दोस्रो स्थानको एभीएमले चौथो दिनको समाप्तिमा ५७ अंक जोड्दै आयोजक टोलीसँग अंक बराबरी गरेको छ । हाल दुबै टोली समान ५७-५७ अंकसहित संयुक्तरूपमा शीर्ष स्थानमा छन् ।
तेस्रो दिनसम्म स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता कायम गरेको थियो । चौथो दिनसम्म टप स्पिन टेबलटेनिस गुड्स नेपाले ५२, होप्स टेबलटेनिस एकेडेमीले ४५ तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ४३-४३ अंक बटुलेका छन् ।
त्यस्तै, कीर्तिपुर नगरपालिकाले ४२, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ४०, द ड्रागन्स टेबटेनिस क्लबले ३६ र ओल्ड हाउस रेस्ट्रोले ३५ अंक जोडेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको सेमिफाइनल समीकरण भोलि तय हुने छ । आइतबार सुरू भएको प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । नेपाली टेबल टेनिसकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा १० टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५-७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।