काठमाडौं । एन्फा महिला लिग छनोटको दोस्रो चरणमा राप्ती एफसीले पहिलो जित निकालेको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा राप्तीले सिन्धुपाल्चोक एफसीलाई १-० ले हराएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी बनेको थियो । खेलको ५१औं मिनेटमा मेनुकाकुमारी आले मगरले बक्सको एज नजिकैबाट उकृष्ट गोल गरिन्। एक गोलले अघि रहेको अवस्थामा मनिषा सेनले निकै शक्तिशाली प्रहार गरेको भए पनि राप्तीले अग्रता दोब्बर बनाउन भने सकेन् ।
खेलभरी सिन्धुपाल्चोक एफसी भने दबाबमा रह्यो। उसले, पहिलो खेलमा विद्यार्थी क्लबसँग हार ब्यहोरेको थियो। आजको जितपछि राप्तीले समूह 'ए' मा तीन अंक जोडेको छ।
आजै भएको दोस्रो खेलमा भने बुटबल लुम्बिनी एफसीले नेपाल बेस्ट मेनेजमेन्ट पोखरा गर्ल्सलाई २-० ले हराएको छ। खेलको पहिलो हाफमा करूणा परियारले गोल गरेर बुटबललाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा एक गोल गरेको बुटबलका लागि दोस्रो हाफमा सुस्मा लिम्बूले गोल गरेकी थिइन्। यो जितसँगै बुटबल लुम्बिनीले समूह 'बी' मा दुई खेलबाट ६ अंक जोडेको छ भने पोखरा लगातार दुई खेलमा पराजित भएको छ।