टप एन्ड टि-ट्वेन्टी सिरिजमा नेपालकाे लगातार दोस्रो जित

भाद्र ४, २०८२ |खेल ब्युरो
टप एन्ड टि-ट्वेन्टी सिरिजमा नेपालकाे लगातार दोस्रो जित

काठमाडौं । टप एन्ड टि-ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। डार्विनस्थित क्यालिज एरिना पाल्मर स्टोनमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि मेलबर्नले एक सय ४० रनको लक्ष्य पाएको थियो।

पाँचौ खेलमा नियमित कप्तान रोहित पौडेलाई आराम दिइएको थियो भने टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रियो। खराब सुरूवात गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल एक रनमा आउट भए । 

भिम सार्की १७ र आरिफ शेख १२ रनमा बाहिरिए । कुशल मल्लले २९ रनको योगदान दिए । त्यसपछि न‍ेपाली खेलाडीले विकेट रोकेर खेल्न सकेनन्। गुल्सन झा दुई र सोमपाल कामी शून्यमा आउट भए। 

२७ रन बनाएका दिपेन्द्रलाई क्यालुम स्टोले क्याचआउट गराएका थिए। अन्तिममा लोकेश बमले २४ र रूपेश सिंहले १६ र जोडेपछी नेपालले मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो। नेपालविरूद्ध मेलवर्नका फरगुस ओनिल र स्टोले समान दुई-दुई विकेट लिएका थिए। त्यसैगरी लाछन ब्याङ्स र मिचेल आर्चको नाममा समान २-२ विकेट रह्यो।

जवाफमा नेपालले पनि बलिङमा पकड जमायो। सोमपालले ओपनर ड्यालन ब्रासरलाई २ रनमा आउट गराए भने हेरी डिक्सनलाई १६ रनमा बाहिरिए। उनलाई कुशल भुर्तेलले क्याचआउट गराएका थिए। 

त्यसैगरी, तेस्रो नम्बरका विल सुदरल्यान्ड ६ रन बनाएको अवस्थामा शाहब आलमको बलमा आउट भए। रूपेश सिंहले ओलिभर पियकलाई १४ रनमा आउट गराएका थिए। यो खेलमा दिपेन्द्रले चार क्याच लिएका थिए। 

चार विकेट गुमाउँदा मेलबर्नले नौ ओभर चार बलमा ४४ रन मात्रै बनाएको थियो। त्यसपछि भने जाई लेमिर र अर्जुन नैरले इनिङ उकासेका थिए। तर, यो साझेदारी पनि ३६ रनसम्म मात्रै टिक्यो। 

लेमिर १८ रन र अर्जुन २६ रन बनाएर आउट भएका थिए। जहाँ सोमपालले दुबै विकेट लिएका थिए भने जेमिर रनआउट भएका थिए। यससँगै उसलाई अन्तिम पाँच ओभरभमा ५८ रन आवश्यक रहेको थियो। यो रन पुरा गर्न नसक्दा नेपालले जित हासिल गरेको हो।

मेलबर्नले २० ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनमा नै समेटिएको थियो। हिजोको खेलबाट नेपालले आज कप्तान रोहितसहित आसिफ शेख, सन्दीप लामिछाने करण केसी र रिजन ढकाललाई आरम दिएको थियो भने दिपेन्द्र सहित गुल्सन झा, रूपेश सिंह, सोमपाल कामी र शहाब आलमलाई मौका दिइएको थियो।

नेपाल पाँच खेलमा दुई जितसहित चार अंक जोडेर अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। अब सेमिफाइनल पुग्नका लागि नेपालले आउँदो खेल जितेर बाँकी टोलीको नजिता पनि नेपालको पक्षमा हुनुपर्ने छ। नेपालले शुक्रबार पाकिस्तान साइन्सको सामना गर्नेछ।

नेपाल सुरूवाती तीन खेलमा पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले हुबर्ट हरिकेन्समाथि ६६ रनको फराकिलो जित हात पार्दै जारी सिरिजमा पुनरागमन गरेको हो ।