काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमति भएको छ । तर नेपाली भूमि प्रयोगबारे दुई देशबीच भएको सहमतिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा दुई देशबीच उक्त सहमति भएको हो । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको वार्तामा उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा मंगलबार राति जारी सहमतिको बुँदा नम्बर ९ मा सीमा व्यापार खोल्ने विषय उल्लेख छ । जसमा लिपुलेक पाससहित, शिपकी पास र नाथूला पास हुँदै सीमा व्यापार पुन: खोल्न सहमति भएको जनाइएको छ ।
यसअघि २०७२ सालमा पनि भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द मोदी २०१५ मे १४ मा चीन भ्रमण गएका बेला समकक्षी ली खछियाङबीच लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो ।
त्यतिबेला सहमतिप्रति आपत्ति जनाउँदै नेपालले तत्कालै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । लिपुलेक पास नेपालले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग हो । तर भारतले पनि कालापानी र लिपुलेकलाई भारतीय सीमाभित्र राखेपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना देखिँदै आएको छ ।