अफगानिस्तानमा बस दुर्घटनापछि आगो लाग्दा ७९ जनाको मृत्यु

भाद्र ४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अफगानिस्तानमा बस दुर्घटनापछि आगो लाग्दा ७९ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा एक बस दुर्घटनामा ७९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १७ जना बालबालिका रहेका छन् ।

इरानबाट निकालिएका आप्रवासी बोकेर काबुलतर्फ जाँदै गरेको बस हेरात प्रान्तमा एउटा ट्रक र मोटरसाइकलसँग ठोक्किएको अफगान गृह मन्त्रालयका प्रवक्ताले जनाएका छन् । ठोक्किएलगत्तै बसमा आगो लागेको थियो भने बसमा सवार सबैको मृत्यु भएको बताइएको छ ।

तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले बससँग ठोक्किने ट्रक र मोटरसाइकलमा सवार दुई जनाको पनि मृत्यु भएको जानकारी दिनुभयो ।

१९७० को दशकमा सोभियत आक्रमणका क्रममा र २०२१ मा तालिबान सत्तामा आएयता अफगानी नागरिकले ठूलो संख्यामा देश छाडेका छन् । अधिकांशले पाकिस्तान र इरानमा शरण लिएका छन् । 

इरानले कागजातविहीन अफगानीलाई देश छाड्न गत जुलाईसम्मको समयसीमा दिएको थियो । इजरायली आक्रमणपछि इरानले सुरक्षाको कारण देखाउँदै हजारौं अफगान नागरिकलाई फिर्ता गरिसकेको छ । राष्ट्र संघीय शरणार्थी निकायका अनुसार जनवरी २०२५ देखि अहिलेसम्म १५ लाखभन्दा बढी अफगान नागरिकले देश छाडिसकेका छन् ।