उपसभामुखलाई पदबाट हटाउन कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन जारी, लोसपा र नाउपाका अध्यक्षसँग पनि छलफल

प्रतिवाद गर्ने माओवादीको निर्णय
भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
 उपसभामुखलाई पदबाट हटाउन कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन जारी, लोसपा र नाउपाका अध्यक्षसँग पनि छलफल

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी थालेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गरिरहेका छन् ।

हस्ताक्षर संकलनका लागि सांसद्लाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । अहिले कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् । 

कांग्रेस स‌सदीय दलको कार्यालयमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरूबीच छलफल भएको छ । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी हुनुभयो ।

त्यस्तै एमालेले पनि सांसदहरूलाई बोलाएको छ । आजै हस्ताक्षर संकलन गरि सक्ने गरि सांसदहरूलाई बोलाइएको बुझिएको छ । कांग्रेस र एमालेका नेताहरूबीच हिजो साँझ बालुवाटारमा बैठक भएको थियो । 

बैठकमा उपसभामुख हटाउने विषयमा छलफल भएको र सो प्रक्रिया तत्काल अघि बढाउने गरि कांग्रेस एमाले अघि बढेको हो । यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपसभामुख रानालाई हटाउने तयारीको प्रतिवाद गर्ने निर्णय गरेको छ । 

माओवादी पदाधिकारी बैठकले सत्ता गठबन्धन दल अधिनायकवादतर्फ उन्मुख हुँदै गएको निष्कर्ष निकाल्दै उपसभामुखलाई हटाउने खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.