माओवादीको निष्कर्ष : सरकार अधिनायकवादतर्फ गयो

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादीको निष्कर्ष : सरकार अधिनायकवादतर्फ गयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । 

उहाँले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताउनु भयो । सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको उहाँले बताउनु भयो । 

बैठक बुधबार १ बजे पुनः बस्ने पनि उहाँले बताउनु भयो । सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको आरोप लगाउनु भयो । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको उहाँले आरोप लगाउनु भयो ।

प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.