ओलीविरूद्ध एकजुट हुन खोज्दै माओवादी-समाजवादी, तर कार्यनीतिक दूरी कायमै

भाद्र २, २०८२ |प्रकाश बम
ओलीविरूद्ध एकजुट हुन खोज्दै माओवादी-समाजवादी, तर कार्यनीतिक दूरी कायमै

काठमाडौं । २०८४ को चुनावलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका दलसँग एकता र सहकार्य गर्ने प्रयास तीव्र पारेको छ । 

विशेषगरी माओवादीले आफ्नो खस्किँदो जनमत र एक्लै चुनावमा जाँदा कमजोर हुने अवस्थाबाट बँच्न वाम दलहरूसँग एकता वा सहकार्यको विकल्प खोजिरहेको छ। तर तत्कालै एकता हुने अवस्था भने देखिएको छैन। अन्य वाम दलहरू तत्काल हतार नगरी विचार र कार्यनीतिक स्पष्टतामा आधारित एकता गर्नुपर्ने अडानमा छन् ।

नेकपा माओवादी र नेकपा समाजवादीको अहिलेको ध्याउन्न कसरी हुन्छ एमालेलाई कमजोर बनाउनु हो । नेकपा एमालेका अध्यक्ष केपी ओलीविरूद्ध एकजुट हुन तयार भए पनि कमजोर पार्ने मिसनमा भने उनीहरूले उपाय निकाल्न सकिरहेका छैनन् । 

यसका लागि कहिले विद्या भण्डारी कार्ड पनि खेल्न खोजेको देखिन्छ । तर पुर्वराष्ट्रपति भण्डारी पनि विभाजनभन्दा पनि पार्टी भित्र शक्ति बढाउने तर्फ केन्द्रीत भएपछि तत्काल माओवादी र समाजवादीको मिशन पुरा हुने देखिँदैन । 

२०७९ सालको निर्वाचनको नतिजा हेर्दा दुबै दल अस्तित्वको संङ्कटमा समेत भएकाले आगामी निर्वाचन अगाडि कुनै न कुनै फरक रणनीति अपनाउनै पर्ने बाध्यतामा पनि छन् । २०७९ को निर्वाचनमा संघीय संसद प्रतिनिधि सभामा माओवादी केन्द्र ३२ सिटसहित तेस्रो शक्तिका रूपमा स्थापित भयो । यो उ एक्लैको मत भने होइन । 

यसमा उसले नेपाली कांग्रेससँग सहकार्य गरेको थियो । तर कहिले कांग्रेस, त कहिले नेकपा एमालेलाई धोका दिँदै पालैपालो सत्तारोहण गरेपछि अहिले दुबै दल माओवादीसँग क्रुद्ध छन् । 

३२ सीटलाई जादुयी नम्बर भन्दै सत्तामा ठुला दललाई खेलाइरहनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल अब आउने निर्वाचनमा पार्टीको अवस्थालाई आंकलन गर्दै सहकार्यको खोजिमा हुनुहुन्छ । काँग्रेस एमाले दुबै चिढिएपछि अहिले उहाँको रोजाइमा एकीकृत समाजवादी परेको छ ।

माओवादीले एकीकृत समाजवादीसँग एकताका लागी सकारात्मक छलफल भइरहेको दाबी गर्दै आएको छ । तर एकीकृत समाजवादी पार्टी भने तत्काल माओवादीसँग मिल्न तयार छैन । 

नेकपा एमालेका अध्यक्ष ओलीको रवैयाका कारण बाध्यात्मक रूपमा पार्टी फुटाउनु परेको तर्क गर्दै आएको समाजवादी पनि अस्तित्वको संकटमा छ । प्रतिनिधी सभामा उसको दश सदस्य भएपनि राष्ट्रिय पार्टी भने बन्न सकेको छैन । 

यसकारण एमालेविरूद्ध शक्ति आर्जन गर्न तथा आगामी निर्वाचनमा सम्मानजक नतिजाका लागि उसले पनि कुनै न कुनै रणनीति अपनाउनु पर्ने छ । उसको पनि विकल्प माओवादीसँगको एकता हुन सक्छ । तर यसका लागि पहिला कार्यक्रम, कार्यनीति, कार्यादेश, रणनीति तथा बैचारिक दृष्टिकोणमा व्यापक छलफल र साझा मत बनाउनुपर्ने समाजवादीको अडान छ ।

समाजवादीमा त एकतामा भन्दा संगठन निर्माणमा लाग्नुपर्नेमा मत बढी छ । अर्कोतर्फ एकताका लागि माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि संवाद गरिरहेको छ । तर यहाँ पनि दुबै दल कार्यक्रम र बैचारिक स्पष्टता खोजिरहेका छ्न ।

देशमा रहेका सम्पुर्ण वामपन्थि शक्तिहरू मिलेर वृहत वामएकता गर्नुपर्ने नारा घन्काउने गरेका कम्युनिष्ट दलहरू अहिले विभाजित छन् । नेकपा एमाले बलियो वामपन्थी शक्ति भएकाले यसबाट विभाजित भएर बनेको समाजवादी र धोखा पाएको ठान्ने माओवादी अहिले वैकल्पिक वामशक्ति बन्ने ध्याउन्नमा छन् । 

उनीहरू नेकपा एमाले अझ विशेष गरेर यसका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन चाहन्छन् । यसै सोच अन्तरगत माओवादी र समाजवादीको एकताको कुरा आएको हो । तर दुई दलमा नेकपा एमालेविरूद्धको शक्ति बन्नेमा एकमत भएपनि अन्य धेरै कुरा मिल्न समस्या छ । 

यसकारण आउने निर्वाचनसम्ममा सबै कुरा मिलाएर पार्टी एकता गर्ने नभए चुनावी गठबन्धन भएपनि गर्ने उनीहरूको सम्भावना छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।