विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताउनु भएको छ ।
विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रमअनुसार नै अघि बढ्ने स्पष्ट पार्नु भएको हो ।
आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू नेकपा एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो भन्दै आफू नेकपा एमालेको कार्यकर्ता भएको प्रष्ट पार्नुभयो ।
राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै पद सकिएपछि पुरानो काममा फर्कन सकिने उहाँले जिकिर गर्नुभयो । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने भन्दै राजतन्त्र र गणतन्त्र फरक भएको उहाँको भनाइ थियो । जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्ने उहाँकाे भनाइ छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताउनु भयो । पार्टीको औपचारिक कुरा आफूलाई थाहा नभएको उहाँले बताउनु भयो । सदस्यहरूलाई सबै कुरा थाहा नहुने र कमिटीमा बस्नेहरूलाई थाहा हुने पनि उहाँले बताउनु भयो । आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट बताउनु भयो ।
भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्नु भएको थियो । उहाँले केपी ओलीबाट एमालेको नेतृत्व हुन नसक्ने भन्दै अब अध्यक्षको दाबेदारी गर्नेसमेत बताउनु भएको थियो । त्यसलगत्तै बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले उहाँको नविकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो । उहाँलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भएपनि भण्डारीले आफ्नो अभियान नरोकिने बताउँदै आउनु भएको छ ।
भण्डारीले आफ्नो सदस्यता पार्टीको विधान र प्रक्रिया अनुसार नविकरण भइसकेकको जिकिर गर्नुभएकाे छ । राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
आफूले गुट नचलाएको भन्दै मदन भण्डारी फाउन्डेसनमाथि लगाएको आरोपबारे पार्टीका नेताहरूलाई नै सोध्न पनि उहाँले आग्रह गर्नुभयो । वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले सम्भावना नरहेको भन्न नमिल्ने भन्दै त्यसलाई बलियो रूपमा नदेखेको उहाँको भनाइ छ ।