जनकपुर । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको आरोप लगाउनु भएको छ ।
जनकपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरू सुशासनको विरूद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरूमाथि प्रतिशोध साध्ने, जनविरोधि भूमि सम्बन्धी कानुन ल्याउने लगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्धत रहेको टिप्पणी गर्नभयो ।
पूर्वमन्त्री समेत रहनुभएकी उपाध्यक्ष भुसालले संघीय कार्यान्वयका लागि निकै महत्वपूर्ण मानिएको निजामति ऐन कानुनमा कुलिंग पिरियडको बेलामा कानुनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएर राख्नु नै संविधानको मुल मर्म विपरित कानुन ल्याउन सरकार अग्रसर रहेको बताउनु भयो ।
उहाँले नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा, महेन्द्र राय यादवको जनता समाजवादी पार्टीलगायतका दलहरूसँग सकारात्मक रूपमा वार्ता अघि बढिरहेको जानकारी दिनुभयो ।
एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरूसँग एकताको हात अघि बढाइएको भुसालको भनाइ छ ।
आइतबार धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको २०औँ स्मृति सभामा सम्बोधन र सोमबार गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा हुने शहीद रामवृक्ष यादवको ३१ औँ स्मृति सभामा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।