पाल्पा । पाल्पामा २ करोड ८७ लाख रकम हिनामिना गरेको आरोपमा सहकारी व्यवस्थापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४, हुमिनस्थित लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल (बिश्वकर्मा) रहेका छन् ।
सहकारी संस्थाका अध्यक्ष सुबि विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । सहकारीको लेखापरीक्ष्ँण प्रतिवेदनमा संस्थाको २ करोड ८७ लाख ५७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा बम्रेललाई पक्राउ गरिएको हो । उनलाई रम्भा गाउँपालिका–४, हुमिनस्थित साउन २७ गते राति आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक प्रधानले जानकारी दिनुभयो । सहकारीले गरेको लगानीका आधारमा लेखापरीक्षण प्रतिवेदनमा हिनामिना गरेको देखिएको हो ।
सहकारीले रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा बचत तथा ऋणको कारोबार गर्दै आएको छ । यसको माडी खहरे, झडेवा र सहकारी संस्थाले शाखा कार्यालय खोलेर झण्डै एक हजार सदस्यबीच कारोबार गर्दै आएको छ ।
बचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैंकको झण्डै एक करोड रकम फिर्ता गर्न बाँकी रहेको लेखा परीक्षण प्रतिवेदनमा रहेको छ । सहकारी संस्थाको रकम हिनामिना भएपछि वचतकर्ताले बचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई चर्को दवाव दिँदै आएको छ । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक हुनुभएको थियो ।
कार्यकारी प्रमुख तथा व्यवस्थापक भई कामकाज गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यहरुले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत तथा पारिवारिक प्रयोजनमा खर्च गरेको उजुरी परेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनुभयो । सहकारी ठगी भन्ने जाहेरी अध्यक्षले दिएकाले उहाँलाई पक्राउ गरी पहिलो पटक ७ दिनका लागि जिल्ला अदालतबाट म्याद लिए थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।