काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नु हुने भएको छ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बुधबार अपरान्ह १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुभएको छ । तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किनुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।