काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटमा द्विपक्षीय हीतका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै उहाँले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नु हुनेछ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास जानु हुनेछ । कांग्रेस सभापति देउवालाई भेटिसकेपछि उहाँ सिधै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जानुहुनेछ ।
आज दिउँसे परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने छ। परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ ।
सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भोलि बिहान पशुतपिनाथको दर्शन गरेर सचिव मिश्री स्वदेश फर्किने कार्यक्रम रहेको छ।