भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्री आज काठमाडौं आउनुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनु भएका उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनु हुनेछ ।

बिहान ९ बजे विशेष विमानबाट उहाँ काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । अहिले विदेश सचिव मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुग्नु भएको छ ।

आजै उहाँले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नु हुनेछ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास जानु हुनेछ । कांग्रेस सभापति देउवालाई भेटिसकेपछि उहाँ सिधै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जानुहुनेछ ।

आज दिउँसे परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने छ। परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ ।

सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भोलि बिहान पशुतपिनाथको दर्शन गरेर सचिव मिश्री स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ भारत भ्रमण गर्नुहुने छ । भारतको भ्रमणअघि प्रधानमन्त्री ओली भदौ १४ गते चीन जानु हुनेछ । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.