भिजिट भिसा दुरूपयोगको छानविन गर्न संसदले पहल नगरेको भन्दै राप्रपाको आपत्ति

श्रावण २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा दुरूपयोगको छानविन गर्न संसदले पहल नगरेको भन्दै राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाकी सांसद विना लामाले भिजिट भिसा दुरूपयोग प्रकरणको छानबिनका लागि संसद्ले पहल नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले सरकारको भिजिट सिभा प्रकरणको छानबिन रोक्ने सरकारको नियतलाई सघाउने काम संसद्बाट समेत भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो । 

उहाँले भिजिट भिसा दुरूपयोग प्रकरणमा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत संलग्नता रहेको उल्लेख गर्दे उहाँले उक्त प्रकरणको स्वतन्त्र छानबिनका लागि सदनले कुनै पहल नगर्नु दुःखद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलहरूले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयको उच्चस्तरको पदाधिकारीहरूको संलग्नतामा संगठित असुलि गर्ने काम भएको र यसलाई मन्त्रालयले कुनै न कुनै रूपमा संरक्षण गरेको प्रमाण आएको विषयमा संसदीय उच्चस्तरीय छानबिन गर्ने कुरामा यो सदनले कुनैपनि पहल नगर्नु दुःखद् विषय बनेको छ ।’

उहाँले सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा कुन गृह मन्त्रालयको पालामा कति जना गए भनेर तथ्य मोड्न लागेको आरोप लगाउनु भयो । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार पनि आफ्नो कुरा राखेर संसद् बहिस्कार गर्दै बाहिरिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.