संसदीय दलमा पराजित मुख्यमन्त्री लामाको राजीनामा नआएपछि बागमतीमा राजनीतिक अन्योल

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय दलमा पराजित मुख्यमन्त्री लामाको राजीनामा नआएपछि बागमतीमा राजनीतिक अन्योल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलको नेतामा पराजित भएर पनि मुख्यमन्त्री पद नछोडेपछि अन्योल बढेको छ ।

मुख्यमन्त्री लामाले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्ने अपेक्षा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको छ । उहाँले लामालाई राजीनामा दिन दबाबसमेत दिइरहनुभएको छ । तर त्यसको वेवास्ता गर्दै मुख्यमन्त्री लामाले तीन जना मन्त्री नियुक्त गरी बिहिबार सपथको तयारी गर्नुभएको थियो । 

यता प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्यमा समस्या आएको भन्दै उपचारका लागि काठमाडौँ हिँडेपछि शपथ ग्रहण स्थगित भएको हो । प्रदेश प्रमुखको सचिवालयले प्रोष्टेटको शल्यक्रिया बल्झिएको र किड्नीमा समस्या देखिएकाले देवकोटाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाएको छ । 

अस्पतालले पनि देवकोटाको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाएको छ । मन्त्रीहरूको सपथ रोकिएपछि मुख्यमन्त्री लामा पनि नेताहरुसँगको परामर्शमा काठमाडौँमा आउनुभएको छ । 

संसदीय दलमा पराजित भएपछि मुख्यमन्त्री लामाले आगामी रणनीति बनाउन आफू निकट नेताहरूसँग छलफल गरिरहनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.