मकवानपुर । मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएसँगै बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदैछ । कांग्रेसभित्रको किचलोले बागमती प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ ।
नयाँ संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गर्नुभएको हो । संसदीय दलमा उम्मेद्वारी दिने दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता मानिनुहुन्छ ।
दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने र मतदान २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएकोछ ।
यसैबीच बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले सरकारमा तीन मन्त्री नियुक्त गर्नुभएको हो । गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त हुनुभएको हो । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।