एमाले केन्द्रीय कमिटी : भण्डारीको प्रवक्ता नबन्न नेताहरुलाई ओलीको चेतावनी

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले केन्द्रीय कमिटी : भण्डारीको प्रवक्ता नबन्न नेताहरुलाई ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेताहरुलाई चेतावनी दिनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालमा आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिनुभएको हो । उहाँले भण्डारीको पक्षमा लागेर वकालत गर्न थाले कारबाही गर्ने चेतावानी दिनुभयो । अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने उदेश्यले पार्टीभित्र विवाद र विभाजनको प्रयास भइरहेको भन्दै त्यसबाट सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

बैठकमा आजैदेखि उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सुरु भएको छ । आज गण्डकी, मधेश, उपत्यका विशेष र सम्पर्क मञ्चमा आवद्ध नेताहरुले विधान संशोधन प्रस्तावमाथि धारणा राखेका छन् । झन्डै ४० जनाभन्दा केन्द्रीय सदस्यले आजको बैठकमा पार्टी विधान र पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिका विषयलाई लिएर नेताहरुले धारणा राखेका छन् ।

अधिकांश नेतारुले पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने धारणा राखेका छन् । पार्टीले राष्ट्रपति जस्तो सम्मानित पदमा पुर्‍याएकाले पुन राजनीतिमा फर्किंदा नराम्रो सन्देश जाने उनीहरुको भनाइ थियो । नेताहरुले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता प्राविधिक विषय नभएर राजनीतिक विषय भएकाले राजनीतिक रुपमै निर्णय गरिनुपर्ने बताए ।

बैठकमा बोल्ने अधिकांश नेताले उपाध्यक्ष पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा समर्थन जनाएका छन् । ७० वर्षीय उमेर हद र अध्यक्षमा दुई कार्यकालको व्यवस्था विधानबाट हटाइएकोमा पनि नेताहरुले समर्थन गरेका छन् । एमालेको पहिलो विधान महाधिवेशनबाट १९ पदाधिकारीसहित ३ सय ९७ जना केन्द्रीय सदस्यको व्यवस्था गरिएको थियो भने नयाँ प्रस्तावित विधानमा १५ जनापदाधिकारीसहित २ सय ५१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदालाई आगामी भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा पेश गरिने छ । एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.