काठमाडौं । साफ अन्डर सिक्सिटन युथ लिग अन्तर्गत आज भएको पहिलो खेलमा चर्च ब्वाइज क्लबले भगवती क्लबलाई ४-२ ले हराएको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा अप्सन गुरुङले ह्याट्रिक गरे।
खेलको २४ औं मिनेटमा अनिल परियारले भगवतीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्ज्युरी समयमा सुसन थापा मगरले खेल बराबरीमा ल्याए। यता ६१ र ६९ औं मिनेटमा अप्सनले लगातार दुई गोल गरेर चर्च बोइजलाई सहज अवस्थामा ल्याएका थिए। तर सुयोगले भगवतीका लागि दोस्रो गोल गर्दै पुनरागमनको प्रयास गरे पनि अप्सनले खेललाई ४-२ मा समाप्त गरे। यो जितसँगै १६ अंक बनाएको फ्रेन्ड्स अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चर्च बोइज आठौं स्थानमा छ।
त्यसैगरी, आजको दोस्रा खेलमा फ्रेन्ड्स क्लबले एनआरटीलाई ३-१ ले हराएको छ। १० मिनेटमा मन्दिपको गोलबाट अग्रता बनाएको फ्रेन्ड्सका लागि पहिलो हाफमा मन्दिपले नै दोस्रो गोल पनि गरे। त्यसैगरी, सुनिल केसीले दोस्रो हाफमा गोल गरे। विरेन्द्र मल्लले दोहोरो पहेलो कार्ड पाएको भए पनि फ्रेन्ड्स दबाबरहित रहेर विजयी भयो। त्यसैगरी आजको तेस्रो खेलमा भने पुलिस क्लबले मछिन्द्रलाई २-० ले हराएको छ। पुलिसका लागि दुवै गोल पहिलो हाफमा समिर कुमारले गरेका थिए। यो जितसँगै पुलिसले सात खेलबाट १९ अंक बनाएको छ। मछिन्द्रको अपराजित यात्रामा ब्रेक लागेको छ। यो हारसँगै उसको शीर्षस्थानमा पुग्ने योजनामा समेत धक्का लागेको छ। मछिन्द्रले सात खेलमा १४ अंक बनाएको छ।