काठमाडौं । नेपाल फेरि एकपटक साफ महिला अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपविजेतामा सीमित बनेको छ। बंगलादेशको ढाकामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा घरेलु टिमसँग चार–शून्यले पराजित भएसँगै बंगलादेश पाँचौ पटक च्याम्पियन बनेको हो । नेपालको कमजोर डिफेन्ससामु सागोरिका एक्लैले बंगलादेशका लागि चार गोल गरिन्।
ढाकाको बसुन्धरा स्पोट्स सेन्टरमा नेपालले कमजोर सुरुआत गर्यो। रातोकार्डको प्रतिबन्धबाट फर्किएकी सागोरिकाले खेलको सातौं मिनेटमा बंगलादेशलाई ब्रेकथ्रु दिलाइन् । गोलकिपर सुजता तामाङ पोस्टबाट निकै अघि बढेको अवस्थामा सागोरिकाले सुजातालाई सहजै बिट गरेर घरेलु टोलीलाई अग्रता दिलाएकी हुन्। खेलको १४ औं मिनेटमा नेपाल गोलको नजिक पुगेर पनि बराबरी गर्न सकेन। मिना देउवा र सुक्रिया मियाको लगातार दुई प्रहार गोलकिपरले बचाइन्। यसपटक नेपालले गोलको निकै सुनौलो अवसर गुमाएको थियो। खेलको ५१ औं मिनेटमा नेपालले दोस्रो गोल बेहोर्यो। यसपटक पनि सागोरिकाले नेपाली डिफेन्सलाई सहजै परास्त गरेर गोल गरिन्। गोलकिपर सुजातालाई छक्याएर उनले पहिलो बारमै स्कोर गरेकी हुन्। सागोरिकाले खेलको ५८ औं मिनेटमा ह्याटि्रक पुरा गरिन्। आफ्नै कोर्टबाट जोयनब रिताले दिएको लामो पासमा सागोरिकाले अग्लो प्रहारमार्फत् गोल गरिन्। यो गोलसँगै नेपाल तीन-शून्यले पछि परेको थियो। ७२ औं मिनेटमा सागोरिकाको गोल अफसाइड भएको थियो। खेलको ७६ मिनेटमा सागोरिकाले गोल गरेर खेललाई चार शून्यमा समाप्त गरेकी हुन्।
बंगलादेशसँगको पहिलो खेलमा नेपाल तीन- दुई गोलले पराजित गरेको थियो। यसअघि नेपाल सन् २०१८ र २०२३ को फाइनलमा पुगेर बंगलादेशसँग पराजित भएको थियो। यता बंगलादेश पाँचौ पटक यो उमेर समूहको साफको च्याम्पियन बनेको छ। साफ अन्डर ट्वेन्टी च्याम्पियनसिप भारतले दुई पटक जितेको छ।