काठमाडौं । नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुले सरकारले जनताका काम गर्नुपर्ने र संविधान संशोधन प्रक्रिया शुरु हुनुपर्ने निष्कर्ष निकालेको छ ।
सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास चाक्सीबारीमाम बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताउनु भयो । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको उहाँको भनाइ छ । नेता सिटौलाले काँग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गर्नुभयो ।
उपप्रधान एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने बताउनु भयो । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि उहाँले बताउनु भयो । सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएकाले संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको उहाँले बताउनु भयो । संविधान संशोधनका लागि सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको उहाँले बताउनु भयो ।