रुपन्देही ३ उपनिर्वाचन : जित्ने उम्मेदवारको खोजी

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रुपन्देही ३ उपनिर्वाचन : जित्ने उम्मेदवारको खोजी

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै राजनीतिक दलहरु उपयुक्त उम्मेदवार खोज्न थालेका छन्। 

चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरु अहिलेदेखि नै जोडघटाउमा लागेका हुन् । २०७९ सालको निर्वाचनमा निर्वाचित राप्रपाका दीपक बोहराको निधनपछि आयोगले उपनिर्वाचन गराउन लागेको हो । आयोगले असोज २१ गते उम्मेदवारको मनोनयन दर्तासहितको निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि दलहरुले उम्मेदवारको खोजी थालेका हुन् । यो उपनिर्वाचनलाई दलहरुले आफ्नो लोकप्रियता परीक्षणका रुपमा लिएका छन् । क्षेत्रीय दलहरुको पनि दबदबा रहेको रुपन्देही–३ को उपनिर्वाचन रोचक हुने देखिएको छ ।

कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको खोजी थालेका छन् । सबैको लक्ष्य जित्ने नै छ, तर कसैले उपयुक्त उम्मेदवार फेला पारिसकेका छैनन् ।

यो क्षेत्रमा २०७९ सालको निर्वाचनमा राप्रपाका दीपक बोहराले निटकतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई २६ सय ८१ मतान्तरसहित ३६ हजार ७ सय १७ मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यस बेला बोहरालाई नेकपा एमालेले र खाँणलाई माओवादी केन्द्रले सघाएका थिए । तेस्रो भएका रास्वपाका जितबहादुर गुप्ता तेलीले ५ हजार ७ सय ९६ मत ल्याउनुभएको थियो । नागरिक उन्मुक्तिका उम्मेदवारले ४७ सय ५१ र जनमतका उम्मेदवारले ३३ सय १७ मत पाएका थिए । यस पटकको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा र जनमत पार्टी गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

सत्तारुढ दल नेकपा एमाले जसरी पनि नतिजा आफ्नै पक्षमा पार्ने होडमा छ भने गठबन्धनको अर्को घटक नेपाली कांग्रेसलाई आफ्नो पुरानो गढ गुमाउनु छैन।

अघिल्लो निर्वाचनमा एक्लाएक्लै उम्मेदवारी दिएका नागरिक उन्मुक्ति, जसपा नेपाललगायतका मधेशकेन्द्रित दल यस पटकको उपनिर्वाचनमा मधेशी मोर्चाका तर्फबाट एउटै उम्मेदवार उठाउने तयारीमा छन् । कांग्रेस र एमालेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै यसैलाई एजेन्डा बनाउँदै संयुक्त उम्मेदवार उठाएर चुनाव जित्ने ध्याउन्न उनीहरुको छ ।

मोर्चा मै रहेको जनमत पार्टी भने अनिर्णित छ। एमालेको समर्थनमा जितेको राप्रपा यस पटक पनि यो निर्वाचन क्षेत्र गुमाउने पक्षमा छैन । तर कसैको साथ बिना जित्न राप्रपालाई सहज छैन ।

२०७९ सालको निर्वाचनमा पहिलो पटक भाग लिएर रुपन्देही–३ मा तेस्रो भएको रास्वपा पनि यसपटक विजयी हुने रणनीति बनाइरहेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र–३ मा झन्डै १ लाख ४० हजार मतदाता छन् । यो उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठा बनाएका छन् । तर कुनै पनि दलले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेका छैनन् । बरु आ–आफ्नो दलको स्थानीय स्तरमा लोकप्रिय व्यक्तिको खोजी गरिरहेका छन् । दलहरुले एक्ला–एक्लै उम्मेदवारी दिने बताइरहे पनि तालमेल विना अपेक्षित नतिजा नआउने देखेमा उम्मेदवारी दर्ताको दिनसम्म साना दलले संयुक्त उम्मेदवार उठाएर प्रमुख दलहरुलाई चुनौती पेश नगर्लान् भन्न सकिँदैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.