पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न एमाले संस्थापन पक्षको रणनीति

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न एमाले संस्थापन पक्षको रणनीति

काठमाडौं । नेकपा एमालेको स‌ंस्थापन पक्षले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सक्रिय हुन रोक्ने रणनीति बनाउन थालेको छ । 

संस्थापन पक्षका नेताहरूले आगामी भदौमा हुने विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधि भएर सहभागी हुने बाटो नरहेको बताएका छन् ।

कान्तिपुर समाचारसँग कुरा गर्दै एमाले स्थायी समिति सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिलाई मात्रै स्वीकारेको बताउनुभयो । 

भण्डारीले केन्द्रीय सदस्यका रूपमा आफूलाई विधान महाधिवेशनमा सहभागी गराउने अपेक्षा राखिरहेका बेला एमाले प्रचार विभाग प्रमुखले अहिलेको विधानअनुसार उहाँ प्रतिनिधि हुन नसक्ने स्पष्ट पार्नुभयो । विधान महाधिवेशनमा प्रतिनिधि बनाउन पार्टीले विशेष ब्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता गौतमले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुने विधान संशोधन प्रतिवेदन आगामी सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेस गर्ने तयारी भइरहेको बताउनुभयो । 

पार्टीले ७० वर्षे उमेर हद स्थगन गरिसकेको र दुई कार्यकालको ब्यवस्था पनि यसअघि नै हटाइएकाले त्यहीअनुसारको विधान महाधिवेशनमा विधान संशोधन प्रस्तुत् गर्ने तयारी संस्थापन पक्षको छ । 

नेता गौतमले मिसन ८४ को कमाण्डर नै अध्यक्ष ओलीलाई तोकिएकाले ११औँ महाधिवेशनबाट पनि ओलीले नै नेतृत्व लिने दाबी गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले एमालेको ११औं महाधिवेशनबाट नेतृत्वमा आउने चाहना व्यक्त गरिरहनुभएको छ । तर उहाँलाई रोक्न एमालेको संस्थापन पक्ष अहिलेदेखि नै कसरतमा लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.