खाँणको आग्रह : पार्टीको आगामी महाधिवेशनमा गुटभन्दा माथि उठेर नेतृत्व चयन गरौं

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
खाँणको आग्रह : पार्टीको आगामी महाधिवेशनमा गुटभन्दा माथि उठेर नेतृत्व चयन गरौं

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पार्टीको आगामी महाधिवेशनमा गुटभन्दा माथि उठेर नेतृत्व चयन गर्नुपर्ने बताउनु भएको छ । 

बुधबार कोइराला निवास विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अबको नेतृत्वले देश र जनताका लागि के-के गर्न सकिन्छ भन्ने स्पष्ट खाकासहित आउनुपर्ने स्पष्ट पार्नुभएको हो । 

नेता खाँणले कोइराला निवासलाई कांग्रेसजनका लागि मात्र नभई प्रजातन्त्रवादीका लागि पवित्र भूमिको संज्ञा दिँदै यसलाई कुनै गुटको केन्द्रको रूपमा हेर्न नहुने बताउनु भयो । कोइराला निवासमा आफ्नो उपस्थितिलाई फरक रूपमा हेरिएको भन्दै उहाँले निवास हाम्रो लागि पवित्र भूमि र कुनै धार्मिक स्थलभन्दा कम नभएको स्पष्ट पार्नुभयो ।

कृष्णप्रसाद कोइरालादेखि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासम्मको योगदानको स्मरण गर्दै उहाँले यो निवास आम कांग्रेस कार्यकर्ताका लागि उर्वर भूमि रहेको बताउनु भयो । कोइरालाको भूमिलाई स्पर्श गर्दा सत्प्रयासमार्फत अगाडि बढ्ने थप ऊर्जा मिल्ने उहाँले प्रष्ट पार्नुभयो ।

खाँणले गुट परिवर्तनको चर्चा चलिरहँदा गुट परिवर्तन नगरेको संकेत गर्नुभयो । पार्टी संस्थापनसँग तपाई अलि टाढिएजस्तो हल्ला चलिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफू सभापति देउवालाई नै सफल बनाउन लागेको बताउनु भयो । यसपटक कांग्रेसको गुटभन्दा माथि उठेर कांग्रेसका नेताहरूको चयन गर्नुपर्दछ पर्ने पनि उहाँले बताउनु भयो । 

अबको नेतृत्वले पाँच वर्षभित्र देशका लागि गर्न सक्ने कामका योजना र जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्न सक्नुपर्ने उहाँको भनाइ छ । एमालेसँगको गठबन्धन सरकारबारे बोल्दै नेता खाँणले अहिलेको संसदीय संरचनामा कुनै पनि दलको एकल सरकार बन्न नसक्ने यथार्थ स्वीकार्नु पर्ने बताउनु भयो । 

उहाँले कांग्रेस र एमालेबीच विगतमा पनि पटक-पटक सहमतिको सरकार बनेको स्मरण गर्दे गठबन्धनमा देखिएका कमीकमजोरीलाई सुधार गर्दे जनताका आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले गठबन्धनलाई २०८४ सालको चुनावसम्मै लिएर जाने पनि स्पष्ट पार्नुभयो । पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे सोधिएको प्रश्नमा उहाँले त्यसलाई ठीक वा बेठीक नभन्ने बताउँदै उक्त निर्णय प्रक्रियागत भएको र त्यसमाथि केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.