जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले सरकार गठन गर्दा गरेको प्रतिबद्धता पुरा नगरेकाले समर्थन फिर्ता लिएर विपक्षी बेन्चमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो ।
आफूले उठाएका ११ वटा माग सरकारले पुरा नगरेको जसपा नेपालको भनाइ छ । सरकारले यो एक वर्षको अवधिमा जनतालाई सुशासनको प्रत्याभूति गराउन नसकेको तथा भ्रष्टाचार अनियमितता र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ ।
सरकारले मुलुकमा आर्थिक विकासको गति अगाडि बढाउन नसकेको र असन्तुलित तथा पूर्वाग्रही बजेट ल्याएको समेत जसपा नेपालको आरोप छ । त्यसैगरी जसपा नेपालले सरकारले संघीयता कार्यान्वयनको ठोस प्रयास नगरेको, कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिबी तथा बेरोजगारी समस्या हल गर्न प्रयास नगरेको समेत आरोप लगाएको छ ।
यस्तै समतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासी दलितलगायतका समस्या समाधान गर्न नसकेकाले समर्थन फिर्ता लिनु परेको जसपा नेपालले जनाएको छ ।