काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गर्नुभएको बताउनुभएको छ ।
पत्रकार सम्मेलनका क्रममा सिंहदरबारमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको भन्ने आरोप निराधार रहेको बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्मा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाउनुभएको थियो । आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको बताउनुभएको थियो ।
त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ । यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरू हुनसक्ने भन्दै अनुसन्धान सुरू गरिसकेको छ ।
प्रधामन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोह सम्बन्धमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा सञ्चारमन्त्री गुरूङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताउनु भयो ।
मन्त्री गुरूङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताउनु भयो । प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको उहाँकाे भनाइ छ ।