कस्तो छ काठमाडौं महानगरको बजेट ?

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कस्तो छ काठमाडौं महानगरको बजेट ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा र उत्पादनमा जोड दिँदै नयाँ बजेट ल्याएको हो ।

महानगरको १७ ‌औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चितकोषमा र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने अनुमानसहित आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्नुभएको हो । आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखिएको छ । त्यस्तै फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमलाई समेत उच्च प्राथामिकतामा राखिएको छ ।

चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट ल्याएको थियो । महानगरले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ६ करोड रूपैयाँ बढी बजेट ल्याएको हो ।

त्यसअघि काठमाडौं महानगरपालिकाले १७ औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

महानगरपालिकालाई समावेशी सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, नवप्रर्वतनमुखी स्मार्ट शहरका रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सांस्कृतिक तथा सम्पदा संरक्षण र दिगो शहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.