काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस लेनदेनको अडियो सार्वजनिक भएको भन्दै सांसदहरूले छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सामान्य प्रशासनमन्त्री गुप्ताको घुसको अडियो प्रकरणमा भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी समेत जोडिएको भन्दै संसद्ले छानबिन गर्नुपर्ने र सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।
घटनाबारे प्रधानमन्त्रीले संसद्मा जानकारी गराउनुपर्ने माग समेत सांसदहरूले गरेका छन् । सांसदहरूले प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा त्यहाँ गएर नफर्केकाहरूबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।
खडेरीले धान रोप्न नपाएका किसानको पीडा सम्बोधन गर्न र राहत दिन पनि सांसदहरूले माग गरेका छन् । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधि तथा साइबर सुरक्षासबन्धी विधेयक २०८२ प्रस्तुत गर्नुभएको छ ।