संसदीय समितिमा राजनीतिक दलका सचेतकको ह्विप मानिँदैन : सांसद शर्मा

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय समितिमा राजनीतिक दलका सचेतकको ह्विप मानिँदैन : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्विप नमान्ने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्विप स्वीकार्य नहुने बताउनुभएको हो । 

उहाँले समितिको बैठक सुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रस्ताव गर्नुसाटो बैठक नै स्थगित गर्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद शर्माले भन्नुभयो, “कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिँदैन । त्यस कारण आआफ्ना ह्विप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्यूले टाढा टाढाबाट समितिका सदस्यहरूलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रस्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानुन बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरू नयाँ कुरा आएको भए पनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरूमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठीक हो भनेर ताली बजाउन सक्छौं ?”

लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उठेर नियमापत्ति जनाउनुभयो । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बस्नुभएको थियो । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरू बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.