काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन र नजिकिँदो विधान महाधिवेशनले नेकपा एमालेभित्रको राजनीति ध्रुवीकृत हुन थालेको छ । भण्डारीले आगामी महाधिवेशनमै नेतृत्वमा प्रतिस्पर्धा गर्ने गरी सक्रियता बढाएपछि एमालेमा हलचल मच्चिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट पनि अध्यक्षमा चयन हुने रणनीति बनाइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले चुनौती थपिएको हो । यही बेला अध्यक्षको कार्यकाल र ७० वर्षे उमेर हदलाई लिएर बहस सुरु भएको छ । अध्यक्षको कार्यकाल र उमेर हदको विषय भदौमा हुने विधान महाधिवेशनबाट टुंगो लगाएर वैशाखमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी एमालेको छ । तर नेतृत्वको बहस सुरु भइसकेकाले एमालेमा ध्रुवीकरण बढेको हो ।
नेकपा एमालेको २०७८ सालमा भएको पहिलो विधान महाधिवेशनले पालिकाभन्दा माथिका कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी पदाधिकारी हुन नमिल्ने र ७० वर्ष उमेर हद राख्ने व्यवस्था राखेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएसँगै एमालेका केही नेताहरू त्यही वर्ष चितवनमा भएको दशौं महाधिवेशनबाटै अध्यक्षको कार्यकालसम्बन्धी व्यवस्था हटाइएको दाबी गरिरहेका छन् । यसमा महासचिव शंकर पोखरेलले वकालत गरिरहनुभएको छ । त्यो प्रावधानले पार्टी अध्यक्ष ओलीलाई उम्मेदवार बन्न रोक्ने भएपछि हटाइएको नेताहरूको दाबी छ ।
तर भण्डारी समूहमा लागेका एमालेका नेताहरू अध्यक्षको कार्यकालको विषय हटाइएको भन्ने तर्क स्वीकार्न तयार छैनन् । अध्यक्षको कार्यकाल मात्र नभएर ७० वर्षे उमेर हद हटाउने निर्णय नभएको र विधानमा चलखेल गरिएको आरोप उनीहरूको छ । यो पक्षले दुई कार्यकालको व्यवस्था समेत कायम नै रहेको तर्क गर्छ ।
एमाले छाडेर गएकाहरू पुनः फर्किन चाहेकाले ७० वर्षे उमेर हद बाधक देखिएको भन्दै यसलाई स्थगन गरिएको संस्थापनको तर्क छ । अहिले पार्टीको विधानमा ७० वर्षे उमेर हद उल्लेख नै छ । त्यो अबको विधान महाधिवेशनमा प्रस्तावको रूपमा जाने छ र अब निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ । तर पार्टीको संस्थापन पक्ष यो बन्धन कायम गरेर अगाडि जान नहुने धारणा राख्नछन् ।
आगामी भदौ २० गतेदेखि हुने विधान महाधिवेशनमा अध्यक्षको कार्यकाल र उमेर हदको विषयमाथि राम्रै बहस हुने देखिएको छ । भण्डारी राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने पक्षमा खुलेका नेताहरूले उमेर हद कायमै राख्नुपर्ने पक्षमा देखिएका छन् । उमेर हद राख्न सके अध्यक्ष ओलीलाई रोक्न सकिने विश्वास उनीहरूमा छ ।
विधान महाधिवेशनले तय गर्ने नीतिले अर्को महाधिवेशनलाई मार्गनिर्देश गर्नेछ । त्यसमाथि पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा के स्थान हुने भन्ने बहस समेत एमालेमा सुरु भइसकेको छ । एमालेका एकथरी नेता आगामी ११ औं महाधिवेशनबाट भण्डारीलाई अध्यक्ष बनाउने कसरतमा जुटेका छन् । अर्को पक्ष भने ओलीलाई नै फेरि नेतृत्व सुम्पने तयारीमा छन् ।
यो परिदृश्यले एमालेमा अब पूरै ध्यान आगामी महाधिवेशन र नेतृत्वमा केन्द्रित हुने देखिएको छ ।