काठमाडौं । मदन भण्डारी फाउन्डेसनले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्मजयन्ती समारोह समिति गठन गरेर देशव्यापी अभियान चलाउने तयारी गरेको छ ।
शनिबार काठमाडौंमा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी आयोजनाका क्रममा दुई वर्षे अभियान सञ्चालनको घोषणा हुने जानकारी गराइएको हो । दुई वर्ष देशव्यापीरूपमा भण्डारीका विचार नेता कार्यकर्ता र आमजनतासम्म पुर्याउने फाउन्डेसनको उद्देश्य छ ।
समितिको नेतृत्व आज घोषणा हुने फाउन्डेसनले जनाएको छ । भण्डारीको नाममा दुई वर्ष अभियान सञ्चालन गरी पार्टीको देशव्यापी समानान्तर समिति गठन गर्ने र आगामी पार्टी महाधिवेशनबाट एमालेका पूर्वउपाध्यक्ष समेत रहनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने तयारी छ ।
उता प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने पार्टीको विधान महाधिवेशन भदौमा सम्पन्न गरेर त्यसको ६ महिनाभित्र पार्टी महाधिवेशन गरेर आफै तेस्रो पटक अध्यक्ष बन्ने रणनीतिमा हुनुहुन्छ । त्यसैले उहाँ फाउन्डेसनले गर्ने भनेको अभियानलाई रोक्ने पक्षमा हुनुहुन्छ ।
फाउन्डेसनले आज राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा प्रमुख वक्ताका रूपमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई बोलाइएको छ ।