७० वर्षे उमेरहद र अध्यक्षको कार्यकाल टुङ्गो लगाउन एमाले विधान महाधिवेशनमा जुट्दै

महाधिवेशनको तयारी अलपत्र छाडेर कांग्रेस नेताहरुको गुटगत दौडधुप
असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
७० वर्षे उमेरहद र अध्यक्षको कार्यकाल टुङ्गो लगाउन एमाले विधान महाधिवेशनमा जुट्दै

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले विधान महाधिवेशनबाट पार्टी अध्यक्षको कार्यकाल र पदाधिकारीसहितको उमेर हद टुंगो लगाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बुधबार बसेको एमाले सचिवालय बैठकले पार्टीको कार्यकारी अध्यक्षको कार्यअवधिसहित पदाधिकारीको उमेर हद विधान महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको हो । 

यसअघि एमाले सचिवालय र केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको ७० वर्षीय उमेर हद स्थगन गरेको थियो । एमालेभित्र ७० वर्षीय उमेर हद कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीभित्रै मतान्तर छ । 

अध्यक्ष ओली र उहाँपक्षका नेताहरू कार्यकारी पद र उमेर हदको समय तोक्न नहुने पक्षमा छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका केही पदाधिकारी उमेर हद तोकेरै जानुपर्ने अडानमा छन् ।

यसैगरी बैठकले भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । 

यसैगरी विधान संशोधन प्रतिवेदन पेस गर्ने जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ । विधान महाधिवेशनअघि तयारीका लागि एमालेले साउन २ गते पोलिटब्यूरो बैठक र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र कन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्वन फुकुवा गरेको छ । यसैगरी एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष सफल भएको निस्कर्ष निकालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.