रास्वपा र राप्रपालाई सरकारको आग्रहः हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्नुस्

असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा र राप्रपालाई सरकारको आग्रहः हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले संसद् अवरोध गरिरहेका प्रतिपक्ष दलहरूलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । संसद्को प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेरो गोरूको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको उहाँले जिकिर गर्नुभयो । 

रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको उहाँको भनाइ छ । समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई अड्काउन नहुने पनि उहाँले बताउनु भयो । छानबिन समिति स्वीकार गरेर छानबिन समितिले निर्वाध रूपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलहरूले सचेत गराउन खबरदारी गर्नुपर्ने उहाँले बताउनु भयो । 

सरकारले सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । जसमा रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

मन्त्री गुरूङ विरोधको अब धेरै औचित्य नरहेको बताउनु भयो । संसदीय काम कारबाहीमा सामेल भएर संसद् अघि बढाउन सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.