काठमाडौं । नेकपा (एमाले)ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धिमुलक भएको निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
सत्तारूढ दलहरू काँग्रेस-एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उहाँले जानकारी दिनुभयो । उहाँले दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको समेत बताउनु भयो । सडकमा देखिएको विरोधका स्वरहरू कम हुँदै जानु पनि सरकारको सफलता रहेको ज्ञवालीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पार्टीले सरकारको एक वर्ष सफल भएको निष्कर्ष निकालेको छ । दुई दलबीच भएको सम्बन्ध दलीय र नीतिगत निर्णयमा पनि बलियो हुँदै गएको छ । अर्थतन्त्रमा समेत विस्तारै सुधार हुँदै गएको छ । अर्को सरकारले बनाएको बजेट कार्यान्वयन गर्दा पनि मुलुकमा जटिलताहरू सल्टाउन सफल भएका छौँ ।’
यद्यपि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष समेत पार्टीको निष्कर्ष रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।