नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमन्डलाई, फाइनलमा एपीएफ सोझो सेटमा पराजित

सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित
असार ११, २०८२ |खेल ब्युरो
नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमन्डलाई, फाइनलमा एपीएफ सोझो सेटमा पराजित

काठमाडौं । न्यू डायमन्ड स्पोट्स क्लब नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। हेटौंडामा बुधबार भएको फाइनलमा एपीएफ क्लबलाई सोझो सेटमा हराएर न्यू डायमन्डले उपाधि जितेको हो।

खेलको पहिलो सेटमा न्यु डायमन्डले १३-५ र १९-११ को अग्रता बनाएर २५-१२ को सहज जित हात पार्‍यो । खेलको दोस्रो सेटमा एपीएफले कमब्याकको निकै राम्रो प्रयास गर्‍यो। 

एपीएफले सुरूआतमा ९-६ र एक समय १९-१२ ले न्यु डायमन्डलाई पछि पारेको थियो। तर, युवा खेलाडीले भरिएको न्यु डायमन्डले २२-२२ मा बराबरी गर्दै २५-२३ को सानदार पुनरागमन गर्‍यो । 

तेस्रो सेटमा कुमार राईको टिमले सुरूआतबाटै अग्रता बनाएर २५-१९ को जित हाासिल गरेको हो। पछिल्लो डेढ महिनामा नेपालमा आयोजना भएका राष्ट्रियस्तरमा तीन महिला भलिबलमा न्यु डायमन्डले पहिलो उपाधि जितेको हो। 

उसले सन् २०७९ मा पनि राष्ट्रियस्तरको भहिला भलिबल प्रतियोतिामा एपीएफलाई नै हराएर उपाधि जितेको थियो। त्यसयता न्यु डायमन्डले पहिलो उपाधि जितेको हो। एपीएफले भने पछिल्ला तीन फाइनल खेलमा दोस्रो हार ब्यहोरेको छ। 

पोखरामा भएको एनभीए लिगको फाइनलमा एपीएफ, पुलिससँग पराजित भएको थियो। प्रचण्ड कपमा भने उसले पुलिसलाई नै हराएर उपाधि जितेको थियो। आज सम्पन्न भएको नेकोस कपमा व्यक्तिगत विधामा पनि न्यु डायमन्डको बर्चस्व रह्यो। 

स्पाइकर सुमित्रा रेग्मी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। त्यसैगरी, सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो बन्दा प्रगति नाथले सेटरको अवार्ड जितेकी थिइन्। प्रशिक्षकतर्फ कुमार राई उत्कृष्ट चुनिए। 

गण्डकी प्रदेशकी रिकजना बोटे उदीयमान खेलाडी, एपीएफकी स्पाइकर निरूता ठगुन्न उत्कृष्ट स्पाइकर बन्दा गरिमा बोहराले बेस्ट ब्लकरको अवार्ड जितिन्। पुलिसकी कोपिला राना बेस्ट सर्भर घोषित भइन्।