काठमाडौं । लागूऔषधविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल खेलकुद महासंघले राष्ट्रिय टिमका खेलाडीलाई संयुक्त रूपमा एन्टी डोपिङबारे प्रशिक्षण दिएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा बन्द प्रशिक्षणमा रहेको विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टिडोपिङबारेमा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा एन्टिडोपिङ एजेन्सीले प्रतिबन्धित गरेका औषधिबारे जानकारी दिइएको थियो। वाडाले प्रतिबन्धित गरेको औषधिको सेवनबाट हुने असरबारे खेलाडीलाई प्रशिक्षण दिइएको हो ।
यसैगरी सर्वसाधरणलाई एन्टीडोपिङ्का बारेमा बुझाउन खेलाडीले निर्वाह गर्ने भूमिकाबारे पनि जानकाकारी दिइएको छ । कार्यक्रममा ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युनाइटेड नेसनअन्तर्गतको लागूऔषध र अपराध कार्यालय -युएनओडीसीका प्रमुख अल्रिच मैजर, कराते महासंघका अध्यक्ष युवाराज लामा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले एन्टिडोपिङको महत्वबारे प्रष्ट पारेका छन्।
सदस्य सचिव घिसिङले एन्टिडोपिङबारे सबै खेलाडीले बुझ्नु जरूरी रहेको बताए ।