पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा थुनछेक बहस सुरू

बहस अघि करिव ४ घण्टा बयान
असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा थुनछेक बहस सुरू

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विशेष अदालतमा बयान दिनुभएको छ । 

पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिनुभएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उहाँसँग बयान लिएको हो । झन्डै चार घण्टा बयान लिएपछि अदालतमा थुनछेक बहस सुरू भएको छ । 

नेपालको पक्षबाट बहस गर्न १ सयभन्दा बढी कानुन व्यवसायीले नाम दर्ता गराएका छन् । तर आजै बहस सक्नका लागि निश्चित कानुन व्यवसायीलाई मात्र बहस गर्ने छन् । वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, शम्भु थापा, गोपालकृष्ण घिमिरे, केदारप्रसाद कोइराला, रमनकुमार श्रेष्ठ, सविता भण्डारी, टीकाराम भट्टराई, बाबुराम दाहाल, चन्द्रकान्त ज्ञवालीलगायतले नेपालको पक्षमा बहस गर्ने बताइएको छ । 

कानुन व्यवसायीले उहाँलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्ने बताइएको छ । सरकारी वकिलले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको प्रतिरक्षा गर्नेछन् । 

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरूद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । अख्तियारले नेता नेपालबाट १८ करोड ५८ लाख ५० हजार रूपैयाँ बिगो, जरिवाना र कैद सजायकै माग दाबी गरेको छ ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.