कास्की । माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब प्रदेशसभा बैठकमै च्यात्नु भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुग्नु भएका उहाँले रोष्ट्रममै पुस्तक च्यात्नुभएको हो ।
बजेटमार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै उहाँ रुष्ट बन्नु भएको हो । पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यात्नु भएको हो । उहाँले अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष समेत गर्नुभयो ।
अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै उहाँले विनियोजित बजेटमाथि पटक पटक प्रश्न गर्नुभयो । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै प्रदेशसभा सदस्यहरु पनि रुष्ट छन् ।