
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्री नियुक्त भएको २४ दिन पछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत असोज २९ गते ५ दलको समर्थनमा मधेश प्रदेश सभामा लोसपा संसदीय दलका नेता सोनल मुख्यमन्त्री नियुक्त हनुभएको थियो । विश्वास मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
विभिन्न कारण तीन जना निलम्बनमा परेपछि १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा हाल १ सय ४ सदस्य छन् । सरकारलाई विश्वासको मत प्राप्त गर्न ५३ जनाको समर्थन आवश्यक छ । गठबन्धन लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
पछिल्लो समय एक-एक जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्ति र संघीय समाजवादीको समेत सोनललाई समर्थन रहेको सत्ता गठबन्धको दाबी छ । तर, जनमत पार्टीको विभाजन र अन्य दलहरूभित्रको आन्तरिक किचलोका कारण मुख्यमन्त्रीले सोनलले विश्वासको मत पाउने नपाउने अनिश्चित छ ।
सतिशकुमार सिंहको राजीनामा पछि मुख्यमन्त्रीमा दाबी पेस गरेका विपक्षी कांग्रेस र एमालेले भने सोनललाई बहुमत प्राप्त गर्न नदिन हरसम्भव प्रयास गरिरहेका छन् ।