रास्वपा र राप्रपाको बहिस्कारका बीच प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमा मन्त्रीहरु जवाफ दिँदै

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा र राप्रपाको बहिस्कारका बीच प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमा मन्त्रीहरु जवाफ दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको बहिस्कारका बीच प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।

प्रतिनिधि सभाको आजको बैठक सुरु भएलगत्तै रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग दोहोर्र्‍याएको छ ।

रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत मानव तस्करी भएको दाबी गर्नुभयो । उहाँले सरकार र मन्त्री फेरिए पनि मानव तस्कर भने संगठित रूपमा अपराध गरिरहेको आरोप लगाउनुभयो । ‘जनताका मुद्दा उठाउनु अपराध हो ? सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधै उन्मुक्त किन हुन्छन् ? मानव तस्करीको जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ,' उहाँले भन्नुभयो, 'भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने अपराधमात्रै हैन मानवताको घोर अपमान हो ।’

सांसद नेपालीले सरकारमा रहेकाहरूको संरक्षणमा भिजिट भिसामार्फत् मानव तस्करी गर्नेहरूले काम गरिरहेका त छैनन् भन्ने प्रश्न पनि गर्नुभयो । उच्चस्तरीय संसदीय वा न्यायिक छानबिन गर्न सरकारले बेवास्ता गरेको उहााको आरोप थियो ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । राप्रपाले पनि बैठक बहिस्कार गरेको छ ।

रास्वपा र राप्रपाले बैठक बहिस्कार गरेपछि मन्त्रालयगत बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.