काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तारूढ दलसँग भएको दुई बुँदे सहमतिअुनसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर जारी अवरोधका बीच सदन चलाउनु सही नभएको भन्दै माओवादीले सत्तारूढ दलसँग जेठ ३० गते भएको दुई बुँदे सहमतिअनुसार छानबिन समिति गठन गर्न माग गरेको हो ।
बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय समस्या र सुशासनसँग सम्बन्धित विषय भएकाले समिति गठनमा ढिलाई नगर्न आग्रह गर्नुभयो ।
विपक्षी दलहरू राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजीसहित वेल घेराउ गरेका हुन् । नाराबाजीका बीच पनि सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउनुभएको हो ।
बैठकमा रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने बताउनुभयो । त्यस्तै राप्रपाका सांसद धवलशमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाउनुका साथै उक्त घटनाको छानबिन गर्न माग गर्नुभयो ।
बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुशासन आयोग गठनलाई कहीँ नभएको जात्राको संज्ञा दिनुभयो । उहाँले संसद्मा रास्वपा र राप्रपाले गरिरहेको विरोधको समाधान गर्नुपर्ने पनि सुझाव दिनुभयो ।
प्रधानमन्त्री कार्यालयलाई अझै सशक्त बनाउनुपर्ने भए पनि यस्ता आयोगले केही गर्न नसकेको सांसद केसीको भनाइ छ । बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयगत छलफल जारी छ ।