काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रत्येक वर्ष दुई हजार पाँच सय स्वास्थ्य जनशक्ति थप्ने लक्ष्यसहित अबको पाँच वर्षमा कुल १२ हजार दक्ष जनशक्ति पुर्याउने सरकारको योजना रहेको बताउनु भयो । उहाँले सातै प्रदेशमा एक-एक वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् सघन जलन उपचार, मुटु, मिर्गौला प्रत्यारोपण तथा क्यान्सरजस्ता विशिष्ट सेवा उपलब्ध गराइने व्यवस्था गरिएको बताउनु भयो ।
मन्त्री पौडेलले मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न मिर्गौला उपचार केन्द्र स्थापना गर्ने तथा काठमाडौंमा आधुनिक सुविधासहितको राष्ट्रिय न्युरो उपचार केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनु भयो । मन्त्री पौडेलका अनुसार संघीय अस्पतालहरूको सुदृढीकरण अन्तर्गत कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ति र भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल पाटन, संक्रामक रोग अस्पताल टेकु, पोखरा स्थित आयुर्वेद तथा प्राकृतिक चिकित्सा अस्पताल, नरदेवी आयुर्वेद अस्पताल लगायतका पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।
उहाँले सरकार उपचारमुखी सेवामात्र नभई नागरिकमा रोग लाग्न नदिन पूर्व–तयारी तथा रोगको रोकथामका कार्यक्रमहरूमा समेत सन्तुलित लगानी गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।