चितवनमा बढे चोरीका घटना, दुई महिनामै १८ मुद्दा दर्ता

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
चितवनमा बढे चोरीका घटना, दुई महिनामै १८ मुद्दा दर्ता

चितवन । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालयमा वैशाखयता चोरीका १८ वटा मुद्दा दर्ता भएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले पछिल्लो दुई महिनामा भएको चोरीका घटनाबारेको तथ्यांक सार्वजनिक गरेको हो । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा हालसम्म ३० जना पक्राउ परेको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ५ जना महिला छन् । प्रहरीले सोमबार पछिल्लोपटक पक्राउ परेका ५ जनालाई सार्वजनिक पनि गरेको छ । यस्तै बरामद गरिएका मोबाइल फोन पनि सम्बन्धित व्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको छ । हालसम्म मोबाइल हराएको ३६ निवेदन परेकोमा २६ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरी प्रमुख पुरीले जानकारी दिनुभयो ।

चितवनमा पछिल्लो समय स्कुटर, साइकल, मोबाइल, नगद, ल्यापटप, क्यामेरा, सुनलगायतका वस्तु चोरी भएका थिए । चोरी गर्नेहरु धेरैजसो चितवनमै बसोबास गरेका छन् भने केही मात्रै बाहिरी जिल्लामा बसोबास गरी यहाँ चोरीको घटनामा संलग्न भएका छन् । प्रहरीका अनुसार चितवनमा शनिबार बाहेकका दिनमा धेरै चोरी हुने गरेको छ । उनीहरुले विहान ६ देखि अपरान्ह ६ बजेको भित्रमा धेरै चोरी गर्ने गरेको भेटिएको छ ।

यस्तै चितवन प्रहरीले क्रिफ्टो करेन्सी र अनलाइन सट्टेबाजीमा संलग्न दुई जनालाई पनि पक्राउ गरेको छ । काठमाडौंमा धेरै निगरानीमा पर्ने भएपछि सुरक्षित स्थानको खोजीमा चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट वानएक्स बेटमार्फत् अनलाइन सट्टेबाजीमा संलग्न काभ्रेको बनेपा–३ स्थायी घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ मा बस्ने युनिक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट श्रेष्ठको वानएक्स बेट खाताबाट हालसम्म एक करोड ८ लाख ११ हजार रुपैयाँको कारोबार भएको खुलेको छ । प्रहरीले इच्छाकामना–५ मुग्लिन बजार नजिकै शान्ति बजारबाट पनि क्रिफ्टो करेन्सीको कारोबार गर्ने विशाल तिवारीलाई पक्राउ गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.