काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताउनु भयो ।
उहाँले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गर्नुभयो । मन्त्री ठकुरीले सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडी बढिरहेको दाबी गर्नुभयो ।
उहाँले विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक आस्था र विश्वास आ-आफ्नो ठाउँमा भएपनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गर्नुभयो ।
हरेक क्षेत्रमा कर्णालीका प्रतिभाहरू अगाडी बढिरहेको बताउँदै मुलुकको राजनीतिकदेखि प्रशासनिक क्षेत्रमा पनि कर्णालीको उल्लेखनीय उपस्थिति रहेको उहाँकाे भनाइ छ ।