कञ्चनपुरको पुनर्वासस्थित प्याराताल संरक्षण अभियान, १ करोड १० लाखमा तटबन्ध

माटो पटान र सभाहल निर्माण
असार ४, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरको पुनर्वासस्थित प्याराताल संरक्षण अभियान, १ करोड १० लाखमा तटबन्ध

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासस्थित प्याराताल जैविक विविधता, ऐतिहासिक महत्व र पर्यटीय सम्भावना बोकेको क्षेत्र हो । 

जलचर र पन्छीहरूको आश्रयस्थल यो ताल हाल नागरिकस्तर र सरकारी प्रयासले पुनर्जागरणको चरणमा पुगेको छ । भारतको दुधुवा नेसनल पार्कको सीमाबाट नजिकै रहेको प्यारातालको सौन्दर्य र महत्वसँगै जोडिएको छ सीमा विवाद पनि ।

५० देखि एक सय मिटर मात्रै चौडाइ र करिब ६ किलोमिटर लम्बाइ भएको प्याराताल कञ्चनपुरको पुनर्वास नगरपालिका-९ मा पर्छ । करिब दुई दशकअघि भारतीय पक्षले १९५ नम्बर सीमास्तम्भ हटायो, त्यसको केही वर्षपछि १९६ नम्बर स्तम्भ समेत गायव पार्यो । 

यो रणनीतिक चालले प्याराताल लगायत करिब दुई सय बिघा नेपाली भूभागमा भारतीय पक्षले आाखा लगाएको देखिन्छ । भारतीय एसएसबीको बलमिच्याईँले नेपाली नागरिकलाई आफ्नै भूमिमा पुग्न नदिने क्रम जारी छ । 

तालको दक्षिणतर्फको नेपाली चरिचरन क्षेत्र तथा तालको उपयोग र संरक्षणमा समेत भारतीय पक्षको हस्तक्षेप स्पष्ट देखिन्छ । तर, सीमापारका यस्ता दबाब र अतिक्रमणको प्रयास नागरिकस्तरबाट बारम्बार विफल बनाइँदै आइएको छ । प्यारातालको संरक्षण अभियानलाई नयाँ गति दिएको छ ।

तालमा पुनर्वास नगरपालिकाले माछा मार्न ठेक्का लगाउने गरे पनि जलकुम्भीले ताल पुरिँदै जाने समस्या कायम छ । ताल सफाइका लागि २०७८ फागुनमा पुनर्वास नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जलकुम्भी हटाउँदा भारतीय एसएसबीले अवरोध गर्‍यो । 

त्यसयता पूरै तालको सफाइ हुन सकेको छैन् । तर आंशिक रूपमा सफाइ भने बेलाबेलामा हुने गरेको छ । तर पछिल्लो ३ वर्षयता प्याराताललाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नागरिकस्तरबाट उद्यान बनाउन लागिएको छ । प्याराताल पर्यटन विकास केन्द्रको अगुवाइमा विभिन्न संघ-संस्था तथा व्यक्तिहरूको लगानीमा संरचनागत सुधार पनि गरिएको छ ।

चालुआर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित ९० लाख रूपैयाँमा पुनर्वास नगरपालिकाले थप २० लाख रूपैयाँ बजेट मिलाएर करिब १ करोड १० लाख बराबरको लागतमा तटबन्ध, माटो पटान र सभाहल निर्माणको काम अगाडि बढाइएको छ ।

प्यारातालको मुहार फेरिँदैछ । नागरिकको पहल, सरकारको साथ र सीमामा सजगता कायम भए यसले नेपालको पर्यटन नक्सामा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।