काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
सभामुखले सदनको कारबाही सुरु गरेसँगै उनीहरूले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिनुभएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एअरलाइन्सहरू, अध्यागन विभाग र गृह मन्त्रालय समेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताउनुभयो ।
उहाँले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको, आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको बताउनुभयो । उहाँले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताउनुभयो ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाई दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गर्नुभयो । सरकारले रोस्ट्रमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरूले अपराधी नभनेको बताउनुभयो ।
भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गर्नुभयो ।